
लेखनाथ, २३ माघ। लेखनाथ सृजनशील अपाङ्गता समाजको आयोजना र पोखरा–३० को आर्थिक सहयोगमा अपाङ्गता भएका ब्यक्ति र तिनका आश्रित परिवारको आयआर्जनमा सहयोग पुग्ने गरी मौरीपालन तालिम र मौरीघार वितरण कार्यक्रम सम्पन्न भएको छ।
अपाङ्गता भएका व्यक्तिलाई सीप विकास गरी उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने गरि वडा ३० अन्तरगत रहेका अपाङ्गता भएकाहरुलाई मौरीपालनका लागि ब्यवहारिक ज्ञानको तालिम र मौरी सहितको घार वितरण गरिएको हो।
कार्यक्रमको उद्घाटन गर्दै वडा ३० की महिला वडा सदस्य रमा नेपालीले हातमा सीप र मनमा जोश जाँगर हुनेले आफूलाई कमजोर नसम्झी क्षमता अनुसारको काम गरेर देखाउनु पनेर्मा जोड दिइन् ।
समाजका अध्यक्ष चूडामणि तिवारीको अध्यक्षतामा भएको सो कार्यक्रममा सहजकर्ता रवीन्द्र अधिकारी, समाजका सचिव वृषबहादुर गुरुङ, सल्लाहकार लोकनाथ भटराई लगायतले तालिम उपयोगी र फलदायी हुनेमा विश्वास ब्यक्त गर्दै सिकेमा कुरा ब्यवहारमा उतारेर ब्यवसायिक मौरीपालन किसान हुन आग्रह गरेका थिए।