आङ्छिरिङ शेर्पाको वाल्यकालदेखि व्यवसायिक जीवन

Pravin Panday

ByPravin Panday

१६ फाल्गुन २०७५, बिहीबार १०:३६ १६ फाल्गुन २०७५, बिहीबार १०:३६ १६ फाल्गुन २०७५, बिहीबार १०:३६


सदरमुकाम सल्लेरीभन्दा दूरदराजको यो गाउँका युवा काम खोज्न लुक्ला र नाम्चे पुग्थे। शेर्पा युवाबीच नाम्चे पुगेर विदेशी पर्यटकको ‘पोर्टर’ बन्ने होडबाजी चल्थ्यो। यो सन् १९७० को उपत्तरार्धको कुरा हो। आङछिरिङ शेर्पा त्यही पाङ्बोचेमा जन्मिए, हुर्किए। ट्रेकिङ एक्स्पेडिसनमा ‘किचेन ब्वाई’ भए। पर्यटकको भारी बोके।

फरक यो भयो कि संघर्षको गह्रौं भारीले उनलाई थिच्न सकेन। झन् संघर्षशील बनायो, स्वप्नदर्शीमा रुपान्तरण गर्यो। उनी फैलिन चाहन्थे। सपना पछ्याउँदै काठमाडौं आए। जहाँबाट उनको जीवनको अर्को अध्याय सुरु भयो।

उच्च शिक्षा हासिल नगरेको एउटा शेर्पा युवाका लागि सन् १९८० को दशकको काठमाडौं संघर्षको दोस्रो मैदान थियो। आङछिरिङले जमल कार्यालय भएको आफ्नै दिदी आइडालीको कम्पनी शेर्पा सोसाइटीमा पथ प्रदर्शकको काम गरे। केही समय त्यहाँ बिताए। अनि दाजुभाउजू (लाक्पा सोनाम र पाशाङल्यहामु शेर्पा) ले खडा गरेको कम्पनी थाम्सेर्कु सरे।यो उनको व्यवसायिक यात्राको सबैभन्दा महत्वपूर्ण निर्णय थियो।

यति एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, नाम्चे यति माउन्टेन रिसोर्ट (चेन), कसरा रिसोर्ट, गोकर्ण फरेस्ट रिसोर्टदेखि निर्माणाधीन पाँचतारे होटल मेची क्राउनमा लगानीसम्मको उनको यात्रा यही थाम्सेर्कुबाट सुरु हुन्छ। हो थाम्सेर्कु उनको व्यवसायिक यात्राको आधार शिविर रह्यो तर त्यहाँ उनी एक्लै थिएनन्। जेठा दाजु लाक्पा सोनाम, कान्छो भाई आङटेण्डीको परिवारसँगै उनी थाम्सेर्कुमा जोडिएका थिए। यो अहिले नेपालकै अग्रणी ट्रेकिङ एजेन्सी हो जोसँग १५ भन्दा बढी अन्तराष्ट्रिय कम्पनीले सहकार्य गर्छन्।

पर्यटन उद्योगमा करिब ३० अर्ब रुपैयाँ लगानी गरेका तिनै आङछिरिङ शेर्पाको बुधबार ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा निधन भएको छ। ५४ वर्षको उमेरमा निधन हुनुभन्दा अघि उनले ट्रेकिङ, वायुसेवा, ट्राभल, होटल क्षेत्रमा आफ्नो बलियो साम्राज्य खडा गरेका थिए।

जीवनको रफ्तार व्यवसायमा केन्द्रित गरेका आङछिरिङ सधैँ लो प्रोफाइलमा बसे। मिडियाले खोज्दा उनी आक्कल झुक्कल बाहेक उपलब्ध हुँदैनथे। कतिसम्म भने उनको तस्विर गुगल सर्चमा समेत भेटिँदैन। यही कारण हो बुधबार उनको निधन हुँदा धेरै डिजिटल मिडियाले फोटो राख्न सकेनन्। लगानीको पाटो एउटा हो तर त्यति दृढ डेडिकेशन भएको मान्छे कमै द्खिन्छन् ।
पाशाङल्यहामु पर्वतारोहण प्रतिष्ठानका महासचिव बच्चुनारायण श्रेष्ठ सम्झन्छन्नन् ‘शेर्पाहरुले भारी मात्र बोक्छन् भन्ने युगमा ट्रेकिङ, एयरलाइन्स, होटल, रिसोर्ट सबैतिर सफलता पाउनु उल्लेखनीय पक्ष हो।’ आङछिरिङका एक जना व्यवसायिक साझेदार एवं बरिष्ठ पर्यटन व्यवसायी आरडी पन्त उनलाई नेतृत्वको हिसाबले ‘आइरनम्यान’ को उपमा दिन्छन्।

बाहिरबाट उनी कठोर निर्भिक, स्वाभिमानी देखिन्थे। भित्रबाट करुणा, दया र प्रेममयी थिए’, पन्तले सुनाए, ‘उनले धेरै घरबारबिहीनहरुको उद्दार गरेका छन्। समाजसेवा गरेका छन् तर यो कुरा उनले कहिल्यै बाहिर ल्याउन चाहेनन्।
३५ वर्षदेखि आङछिरिङ नजिक रहेका पन्त भन्छन ‘उनलाई आफ्नो कर्म र त्यसको फलमा विश्वास थियो। प्रचारमा लगाव थिएन।’

सोलुखुम्बुमा पिताको चौंरी व्यापार देखेर हुर्किएका सोनामले काठमाडौंमा सन् १९८७ मा थाम्सेर्कु ट्रेकिङ कम्पनी स्थापना गरे। स्थापनाको तीन वर्षमै यो नेपालकै नम्बर एक कम्पनीको रुपमा दरियो।

शेर्पा परिवारलाई जसरी सफलताले पछ्यायो त्यसैगरी विपतले कहिल्यै छोडेन। जेठादाजु सोनामकी जेठी पत्नी पाशाङल्यहामुुको सन् १९९३, अप्रिलमा सगरमाथा आरोहणका क्रममा निधन भयो। कान्छोभाई आङटेण्डी २००१ मा हेलिकोप्टर दुर्घटनामै परेर बिते। सन् २०१३ मा जेठा दाजु सोनाम र उनकी कान्छी पत्नी पनि लुक्लामा भएको हेलिकोप्टर दुर्घटनामा परे। उनीहरुको सकुशल उद्दार भयो।

कस्तो संयोग! कान्छोभाई (आङटेण्डी) र माइलोभाई (आङछिरिङ) दुवै दुर्घटनामा परी मृत्यु हुने हेलिकोप्टर कम्पनी एउटै हो— एयर डाइनेस्टी।

Leave a Reply

Your email address will not be published.