पोखरा, १६ फागुन। नेपाली काँग्रेस कास्कीले विहीवार शोक विज्ञप्ति जारी ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनाप्रति दुःख व्यक्त गरेको छ।
दुर्घटनामा परी कास्की भरतपोखरी निवासी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधन भएकोमा स्तब्ध भएको उल्लेख छ।
कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारी भद्र, मिलनसार र सुयोग्य भएको जनाइएको छ।
विज्ञप्तिमा विद्यार्थी राजनीतिबाट संघर्ष गर्दै नेपाली राजनीतिमा अघि बढेका अधिकारी उदयमान नेता भएको उल्लेख छ।
विज्ञप्तिमा सोही दुर्घटनामा यति एयरका प्रबन्ध निर्देशक आङ्छिरिङग शेर्पा, नागरिक उडड्यन प्राधिकरणका उपनिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, निर्देशक ध्रुव्र भोछिभोया, उपसचिव युवराज दाहाल, पाईलट प्रभाकर केसी, मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुन घिमिरेको मृत्यु भएकोमा दुःख व्यक्त गरिएको छ।
विज्ञप्तिमा दुर्घटनामा दिवंगत भएकाहरुको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना गरिएको छ।
नेपाली काँग्रेसका नेता शुक्रराज शर्माले पनि शोक विज्ञप्ति प्रकाशित गरी संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रवीन्द्र अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन्।
नाताले भानिज पर्ने अधिकारीले विद्यार्थीकालदेखि नै रचनात्मक परिवर्तनको पक्षमा संघर्षशील भूमिका निर्वाह गरेको स्मरण गरिएको छ।
नेता शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिकारीले देश र प्रजातन्त्रको पक्षमा उल्लेख्य योगदान पुर्याएको उल्लेख छ।
उनको योगदानलाई सदाजिवन्त बनाउन नेकपा र परिवारलाई आग्रह गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना सहित शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गरिएको छ।
प्रतिनिधिसभा निर्वाचन–२०७४ मा कास्की २ बाट काँग्रेसका उम्मेदवार देवराज चालिसेले मन्त्री अधिकारीको निधनप्रति दुःख व्यक्त गरेका छन्। उनले विहीवार शोक विज्ञप्ति जारी गर्दै नेपाली कम्युनिष्ट आन्दोलनका प्रभावशाली युवा नेता एवं नेपाल सरकारका मन्त्री मेरा प्रिय मित्र रवीन्द्र अधिकारीको असामयिक अकल्पनीय दुःखद निधनले मलाई मर्माहत बनाएको छ। वहाँको निधनबाट मैले राजनीतिको असल मित्र गुमाएँ, नेपाली राजनीतिले आशालाग्दो भविष्य गुमाएको छ। शालीन ब्यक्तित्व, उच्च राजनीतिक संस्कार भएका अधिकारीको नेपाली राजनीतिले सँधै सम्झना गरिरहनेछ, भनेका छन्।
जनप्रतिनिधिको हैसियतले जनताका विकास आकांक्षा सम्बोधन गर्ने वहाँको प्रयासलाई ब्यक्तिगत रुपमा म प्रशंसा गर्न चाहान्छु। दुःखको यस घडीमा स्व. नेताप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै वहाँको धर्मपत्नी, प्यारा छोराहरु, परिवारजन, इष्टमित्र एवं पार्टीका साथीहरुमा गहिरो समवेदना प्रकट गर्दै धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनि कामना गर्दछु, विज्ञप्तिमा उल्लेख छ ।