कास्की काँग्रेसद्वारा विद्यार्थी नेता रिहाइको माग

Pravin Panday

ByPravin Panday

२१ माघ २०७५, सोमबार ११:१७ २१ माघ २०७५, सोमबार ११:१७ २१ माघ २०७५, सोमबार ११:१७

पोखरा, २० माघ। नेपाली काँग्रेस कास्कीले पोखरामा शनिवार पक्राउ गरिएका नेविसंघका विद्यार्थी नेतालाई तत्काल रिहाई गर्न माग गरेको छ।

प्रदर्शनमा उत्रेका विद्यार्थीलाई गिरफ्तार गरिएको घटनाको घोर भत्र्सना गर्दै तत्काल रिहाई गर्न माग गरेको हो।

कास्की काँग्रेसका सभापति कृष्ण केसीद्वारा आइतबार जारी गरिएको विज्ञप्तिमा विद्यार्थी नेतालाई रिहाई नगरे कडा आन्दोलनमा उत्रन बाध्य हुने चेतावनीसमेत दिइएको छ।

नेविसंघको केन्द्रीय कार्यक्रमअन्तर्गत सार्वजनिक विदाको दिन शनिवार भएको विरोध प्रदर्शनका क्रममा विद्यार्थी नेताहरू लक्ष्मीप्रसाद पौडेल, परशुराम बस्नेत, राजेन्द्र बराल, डिफान भुजेल र विनय पौडेललाई पक्राउ गरिएको थियो।

यसैबीच, नेपाली काँग्रेस कास्कीले सोमबार पोखरामा गर्ने विरोध प्रदर्शनको तयारी पूरा भएको जनाएको छ। पोखराको पृथ्वीचोकबाट शुरु हुने प्रदर्शन न्यूरोड, चिप्लेढुङ्गा हुँदै महेन्द्रपुलमा पुगेर कोणसभामा परिणत हुने छ।

उनले सरकारलाई खबरदारी गर्नका लागि प्रदर्शनमा सहभागी हुन आग्रह गरेका छन्। कोणसभालाई काँग्रेस नेता गगन थापाले सम्वोधन गर्नेछन्।  माघ १३ गतेको काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार सरकारका गतिविधि विरुद्व माघ २१ गते देशभरका ७७ जिल्लामा नै प्रदर्शन गरिदै छ।