लमजुङ, १० माघ। लमजुङमा ४४ रोपनी जग्गा कीर्ते गरी बेचबिखन गरेको अभियोगमा पक्राउ परेका ४ जना जेल चलान भएका छन्।
उनीहरुमा वेशीशहरका ४८ वर्षीय काजीराम दमै, बसन्त बराल, ३७ वर्षीया हरिमाया गुरुङ र मिलन गुरुङ रहेको जिल्ला अदालतका स्रेस्तेदार भूमिप्रसाद शर्माले बताए। शर्माका अनुसार जिल्ला न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले उनीहरूलाई पुर्पक्षका लागि जेल पठाइएको हो।
सोही मुद्दामा फरार हुनेमा नुवाकोटको साविक सिग्रे–६ का २६ वर्षीय दीपक तामाङ र काभ्रेको सिपली चिलाउनेका २६ वर्षीय बुद्ध लामा रहेका प्रहरी नायव उपरीक्षक यादव ढकालले बताए।
उनीहरु मिलेर पुरानकोटकै विभिन्न स्थानमा मनमाया गुरूङका नाउँमा रहेको जग्गा कीर्ते गरी बिक्री गरेका थिए । उनीहरूले वेशीशहर–४ वडा कार्यालयको २०७५ मंसिर २० गते, पुस ८ गते र १२ गते घरबाटोको कीर्ते सिफारिस गरी कुल ४४–९–९–३ क्षेत्रफलको जग्गा कीर्ते गरी बिक्री गरेको पाइएको प्रनाउ ढकालले बताए।
पछिल्लो पटक ३२ रोपनी जग्गा त्यसरी बिक्री गर्दै गर्दा छिमेकीले थाहा पाएर सो कार्य रोकिएको र अनुसन्धानका लागि उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। वेशीशहर–४ का वडाध्यक्ष लालवीरको उजुरीले नेपाल सरकार वादी हुने गरी मुद्दा दायर गरिएको हो।
मनमायाका पति र छोरा छैनन्, छोरीहरू पनि सबैको विवाह भइसकेको छ। गाउँमै विवाह गरेर हजुरआमाको समेत रेखदेख गर्दै आएकी हरिमाया गुरुङले किराना पसल समेत सञ्चालन गरेकी थिइन्। उनले पसल चलाउन पैसाको अभाव रहेको हजुरआमासँग गुनासो गरेपछि बैँकमा धितो राखेर ऋण लिन मञ्जुरीनामामा ठूलीआमाले ल्याप्चे लगाएको काँग्रेस क्षेत्र–२ का सभापति समेत रहेका मनमायाका भतिजा बृषराज गुरुङले बताए।
उनले भने, ‘उनीहरूले पछिल्लो समय बिक्री गर्दै गरेको ३२ रोपनी जग्गा पछि मालपोत कार्यालयमा रोक्का गरिएको भए पनि ४४ रोपनी जग्गा बिक्री गरिसकेका रहेछन् ।’