खुला मुक्तक प्रतियोगितामा आदर्श प्रथम

Pravin Panday

ByPravin Panday

१ चैत्र २०७५, शुक्रबार ०९:१० १ चैत्र २०७५, शुक्रबार ०९:१० १ चैत्र २०७५, शुक्रबार ०९:१०

पोखरा, ३० फागुन। प्रगतिशील वाङ्मय प्रतिष्ठान पृथ्वीनारायण क्याम्पसको आयोजना तथा केन्द्रीय कमिटिको सहयोगमा खुला मुक्तक प्रतियोगिता सम्पन्न भएको छ।

प्रतियोगितामा २८ जना प्रतियोगीलाई पछि पार्दै आदर्श सापकोटाले प्रथम स्थान हासिल गर्न सफल भए। यसैगरी, प्रतियोगितामा सुप्रिया सापकोटाले द्वितीय, कमल सुवेदीले तृतीय, विष्णुप्रसाद शर्मा र ज्योति सापकोटाले सान्त्वना स्थान प्राप्त गर्न सफल भए।

प्रतियोगितामा सहभागीलाई सहभागिताको प्रमाणपत्र वितरण गरिएको थियो। साथै, प्रथमदेखि सान्त्वना हुने विजेतालाई क्रमशः नगद दुई हजार पाँच सय, दुई हजार, एकहजार पाँच सय र पाँच सय नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। विजेतालाई पुरस्कार वितरण गर्दै कार्यक्रमका प्रमुख अतिथि प्रगतिशील लेखक संघ गण्डकीका अध्यक्ष लोकबहादुर थापा मगरले साहित्य स्वार्थ, दुर्गन्ध, जालझेल र छलकपट नभएको स्वस्थ, कञ्चन र निर्मल हुने भएकाले परिवर्तनशील विचार बोकेका साहित्यले जीवनलाई जीवन्तता दिने धारणा व्यक्त गरे।

अतिथि मगरले, पछिल्लो पुस्ता स्वयम् क्रियाशील भएर प्रगतिशील साहित्यको उन्नयनमा लाग्नु गौरवको कुरा भएको बताए।

प्राज्ञ सूर्य खड्का बिखर्चीले आफ्ना केही मुक्तकसहित विषय सन्दर्भको मर्म र भावनालाई आत्मसात गरेर लेखिएको मुक्तक साहित्यको चटनी हो भने। संस्थाका सल्लाहकार मदन भण्डारीले पछिल्लो टिमले प्रतिष्ठानलाई उचाइमा पुर्याउनेमा आफूँ विश्वस्त रहेको बताउँदै प्रतिष्ठान दशक अगाडि स्थापना भएर जाग्दै सेलाउँदै गरेको सन्दर्भलाई स्मरण गरे।

कार्यक्रममा साहित्य शृङ्खलाका अध्यक्ष लोकनाथ पुडासैनी, प्रगतिशील वाङ्मय प्रतिष्ठानका केन्द्रीय अध्यक्ष रामजी आचार्य, प्रतियोगिताका निर्णायक गीता पौडेल, सुरज उपाध्याय, असफल गौतम, मुक्तककार श्रीराम अधिकारीलगायतले आफ्ना धारणा राखेका थिए।

संस्थाका अध्यक्ष सुवास पौडेलले हरेक महिनाको पहिलो शुक्रबार पृथ्वीनारायण क्याम्पसमा नियमित रचना वाचन हुने जानकारी दिए

कार्यक्रममा सुदीप पौडेल समर्पणको स्वागत र काशीराम पौडेलको सञ्चालन रहेको थियो।