गर्भवती महिला तथा परिवारहरूले के-कस्ता कुराहरू जान्नै पर्छ?

Sonu Kumar Mahato

BySonu Kumar Mahato

१७ आश्विन २०८०, बुधबार ११:०१ १७ आश्विन २०८०, बुधबार ११:०१ १७ आश्विन २०८०, बुधबार ११:०१

प्रकृतिले आफ्नो सृष्टिलाई निरन्तरता दिन प्रत्येक प्राणीमा नवजन्मको व्यवस्था गरेको छ । बोटबिरुवा, जनावर, मानव सबैमा जीवनचक्र हुन्छ । गर्भावस्था मानव विकासको पहिलो चरण हो । शिशुको जीवन सुरुवात भएदेखि जन्म हुनुपूर्व आमाको पेटभित्र गर्भाशयमा बस्ने अवधिलाई गर्भावस्था भनिन्छ ।

यो अवधि पुरुषको शुक्रकिट र महिलाको डिम्ब मिलेर गर्भ रहेको दिनदेखि कुल २७० दिन वा चालिस हप्ता अथवा नौ महिना सात दिन भन्ने बुझिन्छ । यो अवधिलाई गर्भवतीको शारीरिक संवेगात्मक परिवर्तन तथा शिशुको विकासात्मक अवधिको आधारमा तीन भागमा विभाजन गरिएको छ । यस अवस्थामा आमामा हुने परिवर्तन र शिशुको विकास यसप्रकार छन्ः




गर्भधारणको तयारी
नेपाल सरकार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाअनुसार पहिलोपटक गर्भवती हुन २० देखि ३० वर्षको उमेर उपयुक्त हुन्छ । कानुनी रूपमा विवाह हुने उमेर महिला र पुरुष दुवैको कम्तीमा २० वर्ष नाघेको हुनुपर्दछ ।
आमाबुबा दुबैलाई दीर्घ रोग तथा कुपोषण नभएको हनुपर्छ । साथै आर्थिक जोहो पनि गर्नुपर्छ ।
विभिन्न अनुसन्धानले देखाएअनुसार मानसिक तथा शारीरिक तयारी भएर जन्माएको शिशु, भविष्यमा मानसिक समस्या कम हुने, आत्महत्या तथा बाल अपराधमा नलाग्ने, असल र बुद्धिमान हुन्छन् । त्यसैले शिशु जन्माउने तयारी र योजना बनाउनुपर्छ ।
एक बच्चादेखि अर्काे बच्चा बिचको उपयुक्त जन्मान्तर कम्तीमा ३ वर्ष हुनुपर्छ ।

गर्भवती भएको कसरी थाहा पाउने ?
अधिकांश महिलाहरू आफू गर्भवती भए नभएको एकैपटक थाहा पाउँदैनन् । खासगरी महिनावारी रोकिनु पहिलो लक्षण हो । गर्भ छ छैन भन्ने जाँचका लागि पाइने साधन आजकल सहजै औषधी पसलमा पाइन्छ । महिलाले घरमै गर्भ जाँच गर्ने साधन ल्याएर पनि हेर्न सकिन्छ वा नजिकको स्वास्थ्य संस्थामा गएर पनि जाँच गर्न सकिन्छ ।

गर्भवती जाँच तथा स्याहार
गर्भवती भएको थाहा पाएपछि गर्भवती महिलाको स्वास्थ्य स्थिति र गर्भमा रहेको बच्चाको वृद्धि तथा विकासको अवस्थाको जानकारी लिन स्वास्थ्य संस्था वा अस्पताल गई दक्ष स्वास्थ्यकर्मीबाट नियमित कम्तीमा आठपटक गर्भ जाँच गराउनुपर्दछ (विस्तृत समय र यसको उद्देश्य तल चार्टमा उल्लेख छ) । नियमानुसार गर्भ जाँच गरेबापत यातायात खर्च ठाउँअनुसार सम्बन्धित स्वास्थ्य संस्थाबाट पाउन सकिन्छ ।ज्ञड गर्भ जाँच गर्नका लागि सकेसम्म सधैँँ दम्पत्ति नै जानुपर्दछ ।

गर्भवती हुँदा निम्न तयारीहरू गर्नुपर्दछः
१. उपचारको लागि पैसाको व्यवस्था
२. आकस्मिक अवस्थामा यातायात साधनको व्यवस्था
३. सुत्केरी गराउने स्वास्थ्य संस्था वा दक्ष स्वास्थ्यकर्मीको व्यवस्था
४. आकस्मिक अवस्थामा रगत दिन सक्ने तीन जना मानिसको व्यवस्था

गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा
तल दिइएका खतराका लक्षणहरू देखा परेमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ:
⚠️गर्भवती महिलाको टाउको साह्रै दुखेमा
⚠️ हात खुट्टा अररो भई काम छुटेमा वा मुर्छा परेमा
⚠️आँखा तिरमिराएर धमिलो देख्ने भएमा वा हात वा मुख सुन्निएमा
⚠️ कडासँग तल्लो पेट दुखेमा
⚠️अलिकति पनि गर्भवती महिलाको योनीबाट रगत बगेमा

स्वास्थ्यकर्मीले सिफारिस गरेबमोजिम नियमित आइरनफोलिक एसिड चक्की र जुकाको औषधी खानुपर्छ । खाना पकाउँदा दुई बालबालिकासहितको लोगो भएको आयोडिनयुक्त नुन प्रयोग गर्नुपर्छ । यसले आमा स्वस्थ हुन्छिन् र शिशुको वृद्धि र विकास राम्रोसित हुन्छ । कुनै पनि खानेकुरामा बार्न आवश्यक छैन । निम्न खाद्य समूहका कम्तीमा ५ समूहबाट साधारण अवस्थाभन्दा थप १ पटक खानुपर्छ ।
अन्न तथा कन्दमूल अण्डा
दाल तथा गेडागुडी हरियो सागपात
बदाम तथा बीज भिटामिन ए युक्त तरकारी तथा फलफूल
दुध तथा दुग्धजन्य पदार्थ अन्य तरकारी
माछा मासु अन्य फलफूलहरू
गर्भावस्था हुने जटिलता र शिशुको अपाङ्गता पहिचान
गर्भावस्थामा आमालाई धेरै वाकवाकी लागेर, बान्ता भएर आमालाई खान रुचि कम भई कुपोषण हुन सक्छ । आमाले जथाभावी औषधी, रक्सी, चुरोट तथा अन्य लागुपदार्थ सेवनको कारणले गर्दा, शिशुको विकासमा जटिलता जस्तैः तौल कम हुने,गर्भ खेर जाने अपाङ्गता हुने सम्भावना हुन्छ ।
गर्भावस्थामा नै नियमित गर्भजाँच मार्फत शिशुको अपाङ्गता पहिचान गर्न सकिन्छ । गर्भावस्थामा पहिचान गर्न सकिने केही अपाङ्गताहरू डाउनसिन्ड्रोम, पैताला हात बाँङ्गिने रोग, बहिरोपन, मोतीविन्दु, ओठ काटिएको, मुटुमा भएका समस्या आदि हुन् । यस्ता अपाङ्गता पहिचान भई तुरुन्तै उपचार गरेर जटिल समस्या हुनबाट रोकथाम पनि गर्न सकिन्छ ।
याद राखौँः

आफूलाई मन नपर्ने खानाहरू जर्बजस्ती खानु हुँदैन । मन पर्ने खाना स्वाद फेरेर खाने गर्नुपर्दछ । तर मिठोे खाना भनेर धेरै र जथाभावी तयारी तथा पाकेटका खानाहरू खानु हुँदैन । घरमा नै आफूले वा परिवारले बनाएको शुद्ध खाना मात्र खानुपर्छ ।
टि.डी. खोप पहिलो र दोस्रोे लिनुपर्दछ ।
औँलो लाग्ने जिल्लाहरूमा गर्भवतीले कीटनाशक औषधीले उपचार गरिएको झुलभित्र सुत्नुपर्दछ ।
दादुरा, ठेउला, एचआइभी-एड्स र हेपाटाइटिस सङ्क्रमणबाट जोगिनुपर्दछ ।
आमाबाट शिशुमा हुन सक्ने सङ्क्रमण रोकथाम गर्न गर्भवतीले एचआइभी-एड्स परीक्षण गराउनुपर्दछ ।
स्वास्थ्यकर्मीको सल्लाहअनुसार नियमित रूपमा व्यायाम गर्ने र तौल वृद्धिमा विचार राख्नुपर्दछ ।
दाँत माझ्ने, हात, नङ, यौन अङ्ग तथा शरीर सफा राख्नुपर्छ । यसले रोग लाग्न तथा सङ्क्रमण हुनबाट बचाउँछ ।
दिउँसो पनि प्रशस्त आराम गर्नुपर्दछ । आराम गर्नाले महिलाको स्वास्थ्य राम्रो हुन्छ । गह्रौँ भारी उचाल्नु हुँदैन । गह्रौँ भारी उचाल्नाले बच्चा खेर जान सक्ने तथा आङ (पाठेघर) खस्ने जस्ता समस्याहरू आउन सक्छ ।
रक्सी, जाँड, चुरोट, खैनी खानु हुँदैन । यस्ता पदार्थको सेवनले गर्भपतन हुने, शिशुको वृद्धि विकास नहुने, कम तौल भएका बच्चा जन्मिने आदि खतरा हुन सक्छ ।

परिवारको भूमिका
गर्भावस्थामा, शिशु जन्मने बेला वा जन्मेपछिको आवश्यक सेवाहरूलाई समयमै पुर्‍याउन नजिकैको स्वास्थ्य संस्थाबारे पूर्वजानकारी राख्नुपर्छ ।
गर्भवती महिलालाई शान्त, सहज र आत्मीय वातावरण दिई तनावमुक्त बनाउन मद्दत गर्नुपर्दछ ।
श्रीमान तथा परिवारका सदस्यले घरायसी दैनिक काममा सघाउने, गर्भवतीलाई ठुला गह्रौँ सामानहरू बोक्ने, उचाल्ने वा जोखिमपूर्ण कामहरूमा लगाउनु हुँदैन ।
गर्भवतीको अगाडि धूमपान, मद्यपान गर्नु हुँदैन । यसैगरी खेतबारीमा हाल्ने मल, कीटनाशक औषधीहरू गर्भवतीको वरिपरि राख्नु हुँदैन ।
गर्भावस्थामा शरीरमा आउने परिवर्तनकाबारेमा कुराकानी र मानसिक तयारी गर्नुपर्दछ ।
गर्भमा रहेको शिशुले पनि आवाजहरू सुन्ने भएकाले आमासँगै शिशुसँग पनि कुराकानी गर्ने, गीत सङ्गीत सुनाउने र पेटमा छुने गर्नुपर्दछ ।
आआफ्नो सस्कृति अनुरुप सकारात्मक चालचलनहरू गर्न र गराउन सहयोग गर्नुपर्छ 
जन्मको लागि तयारी
शिशु जन्माउनको लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने, पायक पर्नेे अस्पताल वा स्वास्थ्य केन्द्रको छनौट गर्नुपर्दछ ।
सुत्केरी हुने महिलाको मन दह्रोे गर्न उत्प्रेरणा दिनुपर्छ ।
आमा र शिशुको लागि सफा र नरम लुगा कपडाहरू तयार गरेर राख्नुपर्छ ।
शिशुलाई लुगा, कपडा(ओड्ने, बिछौना), पैसाको जोहो गर्नुपर्दछ ।
प्रसूतिका लागि गर्भवती आमालाई स्वास्थ्यसंस्थामा लैजान स्थानीय क्षेत्रमा पाईने यातायातका साधनहरूको (एम्बुलेन्स, गाडी, गाढा आदि) व्यवस्था गर्नुपर्दछ ।
Copy www.unicef.org

Leave a Reply

Your email address will not be published.