‘बिदाइको दिन आँसुले आँखा भिजेको पाएथेँ
वर्षौ पहिले आमालाई छाडी परदेश आएथेँ
परदेशी हुँदा आमाको आँसु, पुछ्न नि पाइएन
आमाले धरती छाडेर गइन्, मुख देख्नै पाइएन ।’
पोखरा, ६ फागुन। परदेशीहरुको यस्तो मार्मिक पीडा बोकेको गीत युट्युबाट सार्वजनिक भएको छ । गीतकार तथा पत्रकार शिव शर्मा चञ्चलको रचना रहेको गीत म्यूजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
साता अघि यो गीत गीतकार शर्माले आफ्नी दिवंगत आमा जमुनाकुमारी भट्टराईको वार्षिक पुण्यतिथिमा अमेरिकास्थित टेक्ससमा एक कार्यक्रम आयोजना गरी सहभागीमाझ सार्वजनिक गरेका थिए ।
परदेशमा रहँदा घरपरिवारका सदस्य गुमाउँदाको पीडादेखि स्वदेशको मायालाई समेत गीतमा वास्तविक ढंगले उतारिएको छ ।
गोविन्द मधुर आचार्यले स्वर दिएको गीतमा उनलाई महिला आवाजमा गायिका वसन्ता प्रकृतिले साथ दिएकी छिन् । गीतको संगीत संयोजन र एरेन्ज स्वयं गायक आचार्यले गरेका हुन् ।
गीतलाई युएस खबर डटकमका संचालक किसन रेग्मीले निर्माणमा सहयोग गरेका हुन् । गीतको म्यूजिक भिडियो शिव पुरीले निर्देशन तथा सम्पादन गरेका छन् । रामेश्वर कार्कीको छायांकन रहेको गीतमा आमाको भूमिकामा कलाकार अञ्जु देउजा, राजाकुमार घोष, रेगन क्षेत्री र हरि दवाडीले अभिनय गरेका छन् । वरिष्ठ चलचित्र निर्देशक नारायण पुरीको अवधारणा अनुरुप नै गीतको भीडियो निर्माण भएको हो । परदेशीको छोरो र गाउ“मा एक्लै बसेकी आमाको कथा बोकेको गीतले समग्र विदेशमा बसिरहेका परदेशीले घरपरिवारबाट टाढा हुँदा भोग्नुपरेका समस्या गीतमार्फत पस्किएको छ ।