
लेखनाथ, २ फागुन । नारायणदत्त रानाभाट र दुर्गा रानाभाटको स्मृतिमा रानाभाट परिवारद्वारा स्थापित नारायणदत्त दुर्गा रानाभाट स्मृति कोषबाट ३ विद्यार्थी सम्मानित भएका छन् ।
पोखरा २६ का राजनीतिकर्मी तथा प्रजातन्त्रका सेनानी स्वर्गीय नारायणदत्त रानाभाटको सम्झनामा स्थापित ६ लाख ६ हजार ६ सय ६ रुपैयाँको अक्षयकोषबाट यस वर्षदेखि विद्यार्थी प्रोत्साहनस्वरुप सम्मान र जटिल खालको रोगबाट पीडित विद्यार्थीलाई आर्थिक सहयोग गरिएको हो।
वडाका सामुदायिक विद्यालयतर्फबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउन सफल लक्ष्मी माविका छात्र प्रदीप थापा, सोही विद्यालयकी छात्रा मनु पुन र भवानी कालिका माविका उत्कृष्ट विद्यार्थी कृष्ण राजभाटलाई सम्मान गरिएको हो ।
जटिल रोगबाट पीडित गरीब तथा जेहेन्दार विद्यार्थी युवराज रानाभाटलाई नगद २५ हजार आर्थिक सहयोग गरियो ।
भवानी कालिका माविको ६४ औं वार्षिकोत्सव तथा अभिभावक भेलाका अवसरमा भएको कार्यक्रममा प्रदेश सांसद कुमार खड्का, वडाध्यक्ष नारायणप्रसाद बराल र परिवारतर्फबाट विद्यार्थीलाई सम्मान गरिएको हो ।
कोषका संरक्षक देवेन्द्र रानाभाटले अक्षयकोष स्थापनाको उपादेयताबारे जानकारी गराएका थिए ।
सो कार्यक्रममा उपाध्यक्ष वेदनाथ ढुंगाना, सचिव कृष्ण रानाभाट र कोषाध्यक्ष ठाकुर रानाभाट लगायतले आ–आफ्नो धारणा राखेका थिए।