पोखरा, १९ माघ । नारी उत्थान दिदी बहिनी समूह, पोखरा–१७ को पहलमा शनिबार फुस्रेखोलामा सरसफाइ गरिएको छ ।
पोखरा वडा १७, २१ र २२ को संगम फुस्रेखोलाका खाल्से, पीपलडाली, बाक्रे, भत्भते र घट्टेखोला लगायत स्थनामा केन्द्रित रही सरसफाइ कार्यक्रम गरिएको थियो।
स्थानीयबासी र बेलघारी क्षेत्रका कतिपय घरका कपडा धुने, फोहर फाल्ने, खोलामा मूलदेखिकै फोहोर बगेर आउने र पशुआहाल खेल्ने हुँदा खोलामा फोहर थुप्रिएको थियो।
आसपासका बस्तीमा दुर्गन्ध फैलिन नदिन, सरसफाइमा स्थानीयबासीलाई सचेत गराउन तथा प्रकृतिलाई शोभायमान बनाइराख्न समूहले सो सरसफाइ कार्यक्रमको आयोजना गरेको हो।
महानगरकी बोर्ड सदस्य राधिका शाही योगी, वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मी, बेलघारी टोल विकास संस्थाका अध्यक्ष वेदप्रसाद सुवेदी, फुस्रेखोला टोल विकास संस्थाका अध्यक्ष पूर्णदीप सिग्देल लगायत १ सय जनाभन्दा बढीको सहभागिता रहेको कार्यक्रमबाट महानगरका ३ गाडी भरिने फोहर निकालिएको थियो।
वडा १७ कि सदस्य एवं महानगरकी बोर्ड सदस्य योगीले प्राप्त सामग्री समूहकी अध्यक्ष सरिता घिमिरेलाई हस्तान्तरण गर्दै नारी उत्थानका यस्ता कार्यले समाज समुन्नत बन्न मद्दत पुग्ने बताइन।
समूह अध्यक्ष सरिता घिमिरेले सहभागिताको लागि सबैलाई धन्यवाद दिँदै समूहले सामाजिक हितका कार्य गर्न कन्जुस्याइँ नगर्ने प्रतिबद्धता व्यक्त गरिन् ।
फोहर व्यवस्थापनका सामग्री र फोहर उठाउने गाडीको व्यवस्था महानगरमार्फत सूचना अधिकृत गंगालाल सुवेदीले गरेका थिए भने वरिष्ठ समाजसेवी झपिन्द्रराज रेग्मीले आर्थिक सहयोग गरेका थिए।