पोखरा, २३ फागुन। नारी परोपकार केन्द्र पोखरा–८, सिमलचौरको १८ औं स्थापना दिवस तथा अन्तराष्ट्रिय नारी दिवस अवसरमा बिहीबार कानूनी सचेतना कार्यक्रम गरिएको छ।
अधिवक्ता माधवी पाण्डेले सहजीकरण गरेको कार्यक्रममा ६० जना महिला सहभागी थिए।
कार्यक्रम उद्घाटन गर्दै नेपाल प्रेस युनियन कास्कीका अध्यक्ष नवीन सिग्देलले महिलाको पक्षमा कानून बनेकाले महिलाहरु राज्यका महत्वपूर्ण निकायमा सुरक्षित भएको बताए।
विश्व हिन्दू महासंघ कास्की उपाध्यक्ष पार्वती पौडेलले सबै मिलेर समाज रुपान्तरणमा लाग्नुपर्नेमा जोड दिइन्।
त्यस अवसरमा समाजसेवी रश्मी चालिसे र हिमचुली महिला सहकारी संस्थाकी अध्यक्ष उमा पराजुलीले बोलेका थिए।
कार्यक्रममा नेपाल प्रेस युनियन कास्कीका नवनिर्वाचित अध्यक्ष नवीन सिग्देललाई सम्मान गरिएको हो।
केन्द्रकी अध्यक्ष शारदा गिरी र विश्व हिन्दू महासंघ कास्की उपाध्यक्ष पार्वती पौडेल लगायतले अध्यक्ष सिग्नेललाई माला, दोसल्ला र अविर लगाइदिएर सम्मान गरेका हुन्। केही दिन अघि सम्पन्न अधिवेशनबाट सिग्देल अध्यक्षमा निर्वाचित भएका थिए।
नारी परोपकार केन्द्रकी अध्यक्ष शारदा गिरीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष राधा शर्माले स्वागत र सचिव पार्वती गिरीले संचालन गरेकी थिइन्।