नेविसंघ नेतालाई फौजदारी मुद्दा लगाउनु गम्भीर : काँग्रेस

Pravin Panday

ByPravin Panday

२४ माघ २०७५, बिहीबार १०:१९ २४ माघ २०७५, बिहीबार १०:१९ २४ माघ २०७५, बिहीबार १०:१९

काठमाडौं, २३ माघ । नेपाली काँग्रेसले निश्चित कुनै घटनालाई आधार मानेर भ्रातृ संस्था नेपाल विद्यार्थी संघका नेताहरूलाई फौजदारी मुद्दा लगाउने विषयलाई गम्भीर रूपमा लिएको जनाएको छ ।

काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले शान्तिपूर्ण प्रदर्शनका क्रममा भएका केही दुःखद घटनालाई आधार मानेर हालै पोखरामा संघका नेताहरूलाई फौजदारी मुद्दा लगाइएको भन्दै गिरफ्तार विद्यार्थीलाई तत्काल रिहाइ गर्न सरकारसँग माग गरेको हो ।

बैठकले माघ २१ गते राष्ट्रव्यापी प्रदर्शनमा भएको लाखौँको जनसहभागिताप्रति आभार प्रकट गर्दै छोटो समयमा भव्य प्रदर्शन अयोजना गर्ने पार्टीका सबै जिल्ला कार्यसमितिलाई धन्यवाद दिएको छ । साथै प्रदर्शनको समाचार व्यापक रुपले सम्प्रेषण गर्ने सबै सञ्चारमाध्यमलाई पनि बैठकले धन्यवादज्ञापन गरेको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । बैठकले सरकारका गलत क्रियाकलापविरुद्ध गरिने कुनै पनि कार्यक्रम शान्तिपूर्ण ढङ्गले गरिनुपर्छ भन्ने प्रस्ट मान्यता रहेको जनाउँदै माघ २१ गतेको प्रदर्शन सकिएपश्चात् धनुषामा पार्टी सदस्य उमेश कापडीलाई कम्युनिष्ट पार्टीका केही कार्यकर्ताले गरेको सांघातिक हमलालाई गम्भीरतापूर्वक लिएको जनाएको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा भएको बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौला, महेश आचार्य, बालकृष्ण खाँण, डा नारायण खड्का, डा मीनेन्द्र रिजाल, आनन्दप्रसाद ढुङ्गाना र मोहनबहादुर बस्नेतले धारणा राखेका थिए ।

यता, बिनाशर्त विद्यार्थी रिहाइ माग गर्दै नेविसंघले चरणबद्ध आन्दोलन घोषणा गरेको छ । उसले माघ २५ गतेसम्म पहिलो चरणका आन्दोलन घोषणा गरेको हो । जसअन्तर्गत बुधबारदेखि अनिश्चितकालका लागि कास्की जिल्लाभर सरकारी सवारीसाधन चल्न रोक, बुधबार नै जिल्लाका सम्पूर्ण क्याम्पसमा १ घण्टा चक्काजाम र विरोध प्रदर्शन गरिएको छ ।

विहीवार पोखरा महानगरपालिकाको शिक्षा महाशाखा र जिल्ला शिक्षा कार्यालयको काम कारबाही बन्द गर्ने र शुक्रबार कालोपट्टी बाँधेर प्लेकार्ड सहित शान्तिपूर्ण धर्ना दिने कार्यक्रम घोषणा गरिएको नेविसंघ केन्द्रीय सदस्य भानुभक्त ढकालले जनाए । गत माघ १९ गते पोखरा मासबारमा पोखरा महानगरीय शिक्षा महाशाखाखको बा१झ ५८७९ नं को पिकअप भ्यान जलाएको आरोपमा प्रहरीले नेविसंघ नेता परशुराम बस्नेत, डिफान भुजेल र विनय पौडेललाई झुठा मुद्दा दर्ता गराई थुनामा राखेको नेविसंघको आरोप छ । उनीहरुलाई झुठा मुद्दा फिर्ता लिई तत्काल बिनाशर्त रिहाइ माग गरिएको छ ।रासस