पच्चीस वर्षपछि १२ हजार प्रतिव्यक्ति आय : मुख्यमन्त्री गुरुङ

Pravin Panday

ByPravin Panday

६ फाल्गुन २०७५, सोमबार ०९:४८ ६ फाल्गुन २०७५, सोमबार ०९:४८ ६ फाल्गुन २०७५, सोमबार ०९:४८

कास्की, ५ फागुन। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले सङ्घ, प्रदेश र स्थानीय तहका सरकारको लक्ष्य र योजना एकै दिशातर्फ केन्द्रित हुनुपर्ने बताएका छन्।

जिल्ला समन्वय समिति कास्कीद्धारा आइतवार पोखरामा आयोजित जिल्लास्तरीय समन्वय तथा समीक्षा बैठकलाई सम्बोधन गर्दै उनले सरकारका प्राथमिकता र स्रोतसाधन भूगोलअनुसार विविध भए पनि समृद्धिका लागि लक्ष्य र योजना भने एउटै हुनुपर्छ बताए।

सङ्घ र प्रदेश सरकारले बनाएको नीति तथा योजनाका खाकाअनुसार स्थानीय सरकारले पनि आवधिक योजना बनाउनुपर्ने भनाइ उनको छ। सङ्घ सरकारको २५ वर्षपछि १२ हजार ५०० डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य हासिल गर्न गण्डकी प्रदेशबाट कम्तीमा पनि १५ हजार डलर योगदान गर्ने लक्ष्यअनुसार योजना निर्माण गरिनुपर्ने मुख्यमन्त्री गुरुङको भनाइ छ।

जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर क्षेत्रीले कार्यक्रमबाट सरकार सञ्चालनका अनुभव आदान–प्रदान तथा भइरहेका कामबारे जानकारी हासिल भएको बताए। स्थानीय तह सञ्चालन ऐन २०७४ मा व्यवस्था भएबमोजिम कार्यक्रम गरिएको भनाइ उनको छ। माछापुच्छ्रे गाउँपालिका उपप्रमुख कृष्णकुमारी दवाडीले निर्वाचित भएको २ वर्षसम्म पनि आवश्यक कर्मचारी व्यवस्थापन हुन नसक्दा नीति तथा कार्यक्रम कार्यान्वयनमा समस्या भएको बताए।

कार्यक्रममा जिल्ला समन्वय समिति, पोखरा महानगर, माछापुच्छ्रे, अन्नपूर्ण, मादी र रुपा गाउँपालिकाका तर्फबाट चालू आवको माघ मसान्तसम्म भए गरेका गतिविधिहरु प्रस्तुत गरिएको थियो। जिल्लाका पाँचवटा स्थानीय तहका प्रमुख/उपप्रमुख, वडाध्यक्ष तथा वडासदस्यसमेत सहभागी थिए।

Leave a Reply

Your email address will not be published.