पोखरा, ६ माघ। आइतवार पोखरामा आयोजित एक कार्यक्रमका वक्ताले अति प्रशंसा र आलोचना दुवै घातक हुने बताएका छन् ।
सङ्घर्षमा कलम साहित्य समाज पोखराको आयोजना र संस्कार समाज नेपालको समन्वयमा साहित्यकार तथा समाजसेवी पशुपति गुरुङको निबन्ध कृति ‘असल संस्कार समृद्धिको आधार’को परिचर्चा समारोहका वक्ताले उक्त धारणा राखेका हुन्।
कार्यक्रमका प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सभासद् सूर्य खड्का ‘बिखर्ची’ले पछिल्लो समय साधनामा लाग्नुको सट्टा आग्रह र पूर्वागह्रपूर्ण टिप्पणीले नेपाली वाङ्मयको क्षेत्र धमिलो भएकोमा चिन्ता व्यक्त गरे।
अतिथि ‘बिखर्ची’ले स्तरीय लेखनको आधार अभ्यास भएकाले अभ्यासको निरन्तरता आवश्यक रहेको धारणा राख्दै भने– ‘अभ्यास, अध्ययन र साधना विनाका अति प्रशंसा र आलोचना दुवै स्रष्टाका लागि घातक हुन्छन्।’ ‘बिखर्ची‘ले पशुपति गुरुङको पुस्तकका सन्दर्भमा बोल्दै आफू जहाँ बसिन्छ त्यहाँ असल संस्कार बसाल्न आवश्यक रहेकाले गुरुङको असल संस्कार समृद्धिको आधार पुस्तक एउटा सिद्धान्तका रूपमा सबैले शिरोपर गर्नुपर्नेमा जोड दिए।
कृतिको परिचर्चा गर्दै डा. जगन्नाथ रेग्मीले पशुपति गुरुङको कृतिभित्रका १७ थान निबन्धमा असल संस्कारलाई पैतालामा दबाउने होइन, शिरोपर गरी आफैँबाट कार्यान्वयन गरी अगाडि बढ्न आवश्यक रहेको बताए।
स्रष्टा पशुपति गुरुङले हामी आफु सभ्य भए समाज सभ्य हुने र त्यही सभ्यतामा समृद्धि लुकेको बताइन्। गुरुङले नेपाल धेरै सम्भावनाले भरिएको देश भए तापनि सम्भावनालाई साकार पार्ने इच्छाशक्ति नहुँदा समृद्धि ओझेल परेकोमा चिन्ता व्यक्त गरिन् ।
अन्तराष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिका अध्यक्ष दुर्गाबहादुर शाह ‘बाबा’ले असल संस्कार नै सभ्यताको जननी भएकाले हामीले दिने अमूल्य उपहार नै असल संस्कार भएको भन्दै गुरुङले जुन सपना देखेकी छन् त्यो साकार पार्न हरेक नेपालीको साथ र सहयोग चाहिने बताए। समाजसेवी तोयबहादुर भट्टराईले साहित्य र समाजसेवा एक अर्काका परिपुरक भएकाले यी क्षेत्रमा लाग्ने व्यक्ति असल समाज निर्माणका प्रणेता भएको धारणा राखे।
गजल सन्ध्या पोखराका अध्यक्ष अमृत सुवेदीले लेखकको कृति प्रकाशन भएपछि सार्वजनिक सम्पत्ति हुने भएकाले हरेक स्रष्टाले के का लागि लेख्ने र समाजका लागि के दिने भन्ने कुरामा सचेत हुनुपनेर्मा जोड दिए।
कृतिका सम्पादक प्रकाश समीरले स्रष्टा गुरुङलाई विदेशमा बस्दा सिकेको संस्कारलाई स्वदेशमा कार्यान्वयनका लागि निरन्तर साधनारत व्यक्तित्वका रूपमा चिनाए। साथै, उनले कास्कीको घान्दु्रकमा जन्मेकी गुरुङ संस्कार समाज नेपालकी अध्यक्षसमेत रहेकाले उक्त पुस्तकलाई संस्थाको घोषणापत्रका रूपमा बजारमा ल्याएको जानकारी गराए। साहित्यकार अम्बिका भण्डारी र शिक्षासेवी कृष्णप्रसाद पौडेलले पशुपति गुरुङको व्यक्तित्व जस्तो छ कृतित्वमा पनि त्यही संस्कार झल्केको बताइन्।
यसैबीच, नेपाल प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभासद्मा नियुक्त भएकोमा बधाईसहित साहित्यकार सूर्य खड्का बिखर्ची र असल संस्कार समृद्धिको आधार कृतिका लेखक पशुपति गुरुङलाई संस्थाले सम्मानसमेत गरेको छ ।
स्रष्टाद्वयलाई साहित्यकार दुर्गाबहादुर शाह ‘बाबा’, समाजसेवी तोयबहादुर भट्टराई र सभाध्यक्ष कृष्ण रानाभाट ‘सारिथि’ले संयुक्त रूपमा सम्मान अर्पण गरे। अध्यक्षको आसनबाट बोल्दै कृष्ण रानाभाट ‘सारथि’ले राम्रो कामलाई होइन, खराब कुरालाई बढी समय दिने हाम्रो परम्परालाई तोड्नका लागि गुरुङको पुस्तक एउटा बुटीका रूपमा सबैले लिन सके उत्तम हुने धारणा राखे। साहित्यकार असफल गौतमले गुरुङले परदेशमा सिकेका असल सिकाइ व्यावहारिक जीवनमा लागु गर्न घरदेश आएर जुन कार्य गरेकी छन्, त्यसको सबैले अनुशरण गर्नुपर्नेमा जोड दिए।