पोखरा, २५ फागुन । त्रिवि प्राध्यापक संघ, पृथ्वीनारायण क्याम्पस इकाइ समितिको आयोजनामा पृथ्वीनारायण क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुको भूमिका विषयक अन्तक्रिया कार्यक्रम भएको छ।
नवनिर्वाचित प्राध्यापक संघ इकाइ समितिले क्याम्पस प्रमुख, प्रोफेसर, सहायक क्याम्पस प्रमुख, विभागीय प्रमुख, प्रशासनिक कर्मचारी, कर्मचारी संघका प्रतिनिधि समेतको सहभागितामा उक्त कार्यक्रम गरेको हो।
प्रमुख अतिथि पृथ्वीनारायण क्याम्पसका क्याम्पस प्रमुख प्राडा चन्द्रबहादुर थापाले सबैको प्रयत्नले मात्र क्याम्पसले गुणस्तर पत्यायन तथा प्रमाणिकरण प्रमाणपत्र (क्युएए) प्राप्त गर्न सफल भएकोले आगामी दिनमा समेत यस्ता कार्यलाई निरन्तरता दिन प्राध्यापकहरु थप जिम्मेवार बन्न आग्रह गरे।
पोखरा विश्वविद्यालयका पूर्व उपकुलपति प्राडा केशरजंग बरालले नेपालको शिक्षा नीतिमा नै परिवर्तन हुनुपर्ने बताउँदै हालै उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले दिएको प्रतिवेदनको कार्यान्वयन भएमा शिक्षामा आमुल सुधार आउने बताउँदै वर्तमान संघीय, प्रादेशिक र स्थानीय सरकार एउटै पार्टीको भए तापनि तादम्यता मिल्न नसक्नु शैक्षिक विकासको प्रमुख समस्या भएको विचार ब्यक्त गरेका थिए ।
त्रिवि प्राध्यापक संघ पृथ्वीनारायण क्याम्पस इकाइ समिति सदस्य विजय अर्यालले कार्यक्रम विषयमा छलफल पत्र प्रस्तुत गरेका थिए ।
छलफल पत्रमाथि टिप्पणी गर्दै डा लक्ष्मीशरण अधिकारी र प्राडा लेखनाथ भट्टराईले नपढाई जागिर खाने प्रवृत्ति नहटेसम्म क्याम्पसको प्राज्ञिक उन्नयन हुन नसक्ने ठोकुवा गर्दै प्राध्यापक विभिन्न विभाग यसमा जवाफदेही हुनुपर्ने बताए ।
कार्यक्रममा त्रिवि प्राध्यापक संघका पूर्व केन्द्रिय सदस्य सह प्राध्यापक कालिदास शर्मा र संघकै पृथ्वीनारायण क्याम्पस इकाइ समिति पूर्व सभापति डा यमनाथ तिमिल्सिनाले शुभकामना मन्तब्य दिए ।
कार्यक्रममा अर्थशास्त्र विभागका प्रमुख प्राडा देवनारायण सुतिहार, राजनीतिशास्त्रका डा गिरिधारी दाहाल, उपप्रशासक प्रेमलाल बराल, कर्मचारी संघका अध्यक्ष नवराज बास्तोला, भौतिक शास्त्रका पूर्व विभागीय प्रमुख डा कुलप्रसाद दहाल, आंशिक प्राध्यापक संघका अध्यक्ष राजनबहादुर क्षेत्री, प्राध्यापक परशुराम कोइराला, विज्ञान छात्रवासका इञ्चार्ज गोपाल सेँढाई, लाईब्रेरियन किशोर सुवेदी, तथ्यांकशास्त्र विभागका प्रमुख डा टंकप्रसाद अधिकारी, कानून विभागका प्रमुख सह प्राध्यापक बाबुराम पौडेल, डा उमनाथ बराल लगायतले क्याम्पसको शैक्षिक तथा प्राज्ञिक उन्नयनमा प्राध्यापकहरुको भूमिकाका सम्बन्धमा आ–आफ्ना भनाइ राखेका थिए।
इकाइ समिति सभापति थानेश्वर सुवेदीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको संचालन इकाइ सचिव पवित्रराज बरालले गरेको पीएन क्याम्पस क्षेत्रगत व्यवस्थापन विभाग प्रमुख विष्णुप्रसाद भण्डारीले जानकारी दिए।