लोसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतोबीच पार्टीमा को शक्तिशाली भन्ने होडबाजी सुरु भएको छ । यी दुवै हस्ती अहिले पार्टीभित्र आ–आफ्नै तरिकाले संगठन निर्माण र शक्ति आर्जनमा जुटेका छन् । वरिष्ठ नेता महतो सांगठनिकरुपमा ठाकुरभन्दा केही कमजोर देखिएका छन् । तर, केन्द्रदेखि जिल्लासम्म छुट्टै बैठक गर्दै महतो संगठनमा आफ्नो पकड बलियो बनाउने प्रयासमा छन् ।
खासगरी प्रदेश २ का प्रत्येक जिल्लामा कुनै न कुनै बहानामा महतोको उपस्थिति अहिले बाक्लिएको छ । पूर्वसद्भावना पार्टीका नेता–कार्यकर्ताहरूसँग भेटेर आफ्नो पक्ष बलियो बनाउन महतो लागेको अध्यक्ष ठाकुर पक्षका नेताहरूको आरोप छ ।
नेता महतोले जिल्ला–जिल्लामा आफ्नो समूहलाई बलियो बनाउने अभियान थालेपछि अध्यक्ष ठाकुरले पनि केन्द्रबाटै आफू निकटका जिल्ला अध्यक्ष नियुक्त गर्न थालेका छन् । आठ जिल्लामध्ये ६ जिल्लामा महन्थ ठाकुरले आफ्ना पक्षका मान्छे मनोनयन गरिसकेका छन् ।
प्रमेश्वर साह (धनुषा), रामबाबु साह (महोत्तरी), रामप्रसाद यादव (सर्लाही), नवलकिशोर सिंह (बारा), पुरुषोत्तम झा (पर्सा) र रामदयाल यादव (सिराहा) यी सबै जिल्ला अध्यक्ष ठाकुर पक्षकै नेता हुन् । सप्तरीका जिल्ला अध्यक्ष सुनिल झा मात्रै नेता महतो पक्षका हुन् भने रौतहटका जिल्ला अध्यक्ष लीला साह कार्यकारिणी सदस्य अनिल झा पक्षीय हुन् ।
अध्यक्ष ठाकुरले पार्टीमा छलफल गरेरै जिल्ला अध्यक्षहरू मनोनयन गरिएको दाबी गर्दै आएका छन् । अध्यक्ष ठाकुर पक्षका कार्यकारिणी सदस्य अकवाल अहमद भन्छन्, ‘ठाकुरजीले जति पनि मनोनयन गर्नुभएको छ, पार्टीमा सल्लाह गरेर गर्नुभएको छ, एकलौटी गरेको आरोप गलत हो ।’
यसैवीच प्रदेश २ को अध्यक्षमा ठाकुर पक्षीय जितेन्द्र सोनललाई मनोनयन गरिएपछि एकलौटी निर्णय नमान्ने महतो पक्षले बताइसकेको छ ।