रेशमलाल चौधरीसहित ११ जनालाई जन्म कैद

Pravin Panday

ByPravin Panday

२२ फाल्गुन २०७५, बुधबार १६:३३ २२ फाल्गुन २०७५, बुधबार १६:३३ २२ फाल्गुन २०७५, बुधबार १६:३३


धनगढी, २२ फागुन । कैलाली जिल्ला अदालतले साढे तीन वर्षअघि नौ जनाको ज्यान जाने गरी भएको टीकापुर घटनाको मुद्दामा रेशमलाल चौधरीसहित ११ जनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार इन्द्रबहादुर कठायतले टीकापुरको घटनासँग सम्बन्धित मुद्दामा अदालतले गरेको फैसलाबारे बुधवार जानकारी दिँदै उक्त मुद्दाका प्रतिवादी हरिनारायण चौधरी, राजकुमार कठरिया, सुन्दरलाल कठरिया, वृजमोहन डगौरा, राजेश चौधरी, वीरबहादुर चौधरी, प्रदीप चौधरी, विद्रोह भनिने सीताराम चौधरी, श्रवण चौधरी, गङ्गाराम डगौरा र रेशमलाल चौधरीसहित ११ जनालाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १३(३) नं बमोजिम जनही जन्मकैदको सजाय हुने ठहर भएको जानकारी दिए । प्रतिवादीमध्ये श्रवण नाबालक देखिएकाले निजलाई बालबालिकासम्बन्धी ऐनानुसार आधा सजाय अर्थात् १० वर्ष कैद हुने ठहर अदालतले गरेको छ ।

जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको इजलासले गरेको मुद्दाको फैसलानुसार उक्त घटनाका प्रतिवादी लक्ष्मण थारु (चौधरी), लाहुराम चौधरी, रामकुमार कठरिया, सन्तराम चौधरी, विश्राम भनिने जीतबहादुर डगौरा, किशनलाल चौधरी, दिबहादुर चौधरी, सङ्गम भनिने सन्तोष थारु चौधरी, विश्राम चौधरी, चुन्नीराम चौधरी र रामप्रसाद चौधरीलाई मुलुकी ऐन ज्यानसम्बन्धी महलको १७ (३)नं अनुसार जनही तीन वर्ष कैद हुने भएको छ ।

प्रतिवादीमध्ये चुन्नीराम यही फागुन ३० गतेदेखि थुनामुक्त हुने र अन्यको कैद अवधि तीन वर्ष भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने स्रेस्तेदार कठायतले बताए ।

यस्तै प्रतिवादी करन चौधरीलाई बालबालिका ऐनबमोजिम छ महीना कैद हुने ठहर भएकामा निजको पनि कैद भुक्तान भइसकेकाले आजै थुनामुक्त हुने जनाइएको छ । अन्य प्रतिवादी नुरुल अलि जागा भनिने तहाँबर अलि जागा, विश्राम चौधरी (कुश्मी) र रामनरेश चौधरीले अदालतबाट सफाइ पाएका छन् ।

जन्मकैदको सजाय पाएका रेशमलाल प्रतिनिधिसभा सदस्यका लागि पछिल्लो पटक भएको निर्वाचनमा कैलालीको निर्वाचन क्षेत्र १ बाट निर्वा्चित भएका थिए । उक्त निर्वाचनमा वारेसमार्फत उम्मेदवारी दिएका उनी आफ्ना निकटतम प्रतिद्वन्द्वीलाई ठूलो मतान्तरले पराजित गर्दै विजयी भएका थिए । केही महीनाअघि मात्रै जिल्ला अदालतमा उपस्थित उनलाई कैलाली कारागारबाट केन्द्रीय कारागारमा स्थानन्तरण गरिएको थियो । हालै उनलाई शपथग्रहणसमेत गराइएको थियो ।

उक्त मुद्दामा कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँकाचोरी गरी तीन वटा वारदातको अभियोग लगाइएकामा डाकाचोरीतर्पm सबै जनाले सफाइ पाएका छन् । कर्तव्य ज्यानतर्फ जन्मकैद सजाय हुने ठहरिएका १० प्रतिवादीले ज्यानसम्बन्धी महलको १५ नंको कसूर अपराधमा तजबिजी पाँच वर्षसमेत थप सजाय र नाबालक श्रवणलाई दुई वर्ष छ महीना कैद हुने ठहर भएकामा मुलुकी ऐनको दण्डसजायको महलबमोजिम ठूलो कलमको कैद ठेकिएकाले कैद ठेकी रहनु नपर्ने फैसला अदालतले सुनाएको छ ।

उक्त मुद्दामा यही फागुन १५ गतेदेखि नियमित सुनुवाइ भएकामा बुधवार फैसला सुनाइएको हो । उक्त मुद्दाका ५८ प्रतिवादीमध्ये ३१ जना फरार छन् । सत्ताइस जना प्रतिवादी पुर्पक्षका लागि थुनामा थिए ।

मुद्दामा वादी नेपाल सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता विष्णुप्रसाद पौडेल तथा सहायक जिल्ला न्यायाधिवक्ता लक्ष्मीकिशोर शर्माले बहस यस्तै प्रतिवादीका तर्फबाट पूर्वन्यायाधिवक्ता हरि फुयाँल, अधिवक्ता दीनमणि पोखरेल, गङ्गाराम पाध्याय, वीरबहादुर जेठारा, गम्भीरसिंह ऐर, गजेन्द्र केसी, नाथुराम महतो, जुहारीलाल चौधरीलगायतले बहस गरेका थिए । थरुहट÷थारुवान राज्यको माग गर्दै टीकापुरमा भएको आन्दोलनका क्रममा विसं २०७२ भदौ ७ गते भएको हिंसामा परी एक नाबालक र आठ प्रहरीको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published.