पोखरा, २ फागुन। दोश्रो विश्वयुद्धका बेला बेलायती प्रधानमन्त्री वीस्टन चर्चिलले युद्धको निरीक्षण गर्न आफ्नै कार्यकक्षमा ‘वार रुम’ स्थापना गरेका थिए।
उतिबेलाको त्यो ‘वार रुम’ ठ्याक्कै उस्तै नभए पनि ठाउँ र अवस्था अनुसार परिमार्जन गर्दै विभिन्न देशले प्रयोगमा ल्याएका छन्। पछिल्लो समय दक्षिण अफ्रिकी मुलुक र भारतसम्म पनि ‘वार रुम’ अवधारणा चलिरहेको छ।
गण्डकी प्रदेशले त्यसलाई योजनाको अनुगमनमा प्रयोग गर्ने भएको छ। प्रदेशभित्रका ११ वटै जिल्लामा सञ्चालित योजना तथा कार्यक्रम अनुगमन गर्न सरकारले मुख्यमन्त्री कार्यालयमा ‘एक्सन रुम’ बनाउन लागेको हो।
प्राविधिक काम पूरा भैसकेको ‘एक्सन रुम’ को मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सरकारको पहिलो वार्षिकोत्सव समारोहमा उद्घाटन गनेर्छन्।
कुनै पनि आयोजनामा भएको गुणस्तर र कार्यप्रगतिबारे मुख्यमन्त्रीले कार्यकक्षमै बसेर प्रत्येक्ष हेर्न मिल्ने प्रविधि जडान गरेर एक्सन रुम तयार गरिएको गण्डकी प्रदेशका अर्थमन्त्री किरण गुरुङले जानकारी दिए। यसबाहेक बाढीपहिरो तथा शान्तिसुरक्षा अनुगमन पनि सोही कक्षबाट गर्न मिल्नेछ।
सरकारले फागुन ४ गते विशेष कार्यक्रमका साथ पहिलो वार्षिकोत्सव मनाउने तयारी गरिरहेको छ। सरकारले वर्षभरीमा गरेका काम र चुनौती समेटेर तयार गरिएको समीक्षा पुस्तक सार्वजनिक गर्ने तयारी पनि गरिरहेको छ।
चालु आवमा गण्डकी सरकारले ५ प्रतिशत पुँजीगत र १२ प्रतिशत मात्रै चालु खर्च गरेको छ।
‘७० प्रतिशत बजेट खर्च भयो भने सरकारको लक्ष्य पूरा हुन्छ,’ गुरुङले भने, ‘अहिले १७ प्रतिशत हाराहारीमा खर्च भएको छ। धेरै योजनाहरु निर्माणाधीन छन्। लक्ष्य पूरा हुन्छ होला।’
वार्षिकोत्सवमा विभिन्न विधाका १८ जना कर्मचारी सम्मानित हुनेछन्।
गत वर्ष फागुन ४ गतेकै दिन मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङले प्रदेश प्रमुख बाबुराम कुँवरसँग पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका थिए ।