पोखरा, २४ माघ। पोखरा महानगरपालिका वडा २, बरपाटनस्थित विन्ध्यवासिनी माविको ५५ औं वार्षिकोत्सव तथ अभिभावक दिवस सम्पन्न भएको छ।
कार्यक्रममा विद्यालयमा शैक्षिक एवं समग्र उन्नयनका लागि २५ वर्षसम्म अनवरत योगदान पुर्याएकोमा विद्यालय प्रधानाध्यापक बसन्तराज पाण्डेलाई सम्मान गरिएको थियो।
त्यस्तै, हित स्मृति असल शिक्षक पुरकारबाट सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिना, वर्षशिक्षक पुरस्कारबाट इन्दिरा अमात्य, समेकमान बाटाजु स्मृति असल शिक्षिका पुरस्कारबाट रेखा सुवेदी, शिक्षक हरिप्रसाद देवकोटा, कमलप्रसाद लामिछाने र कार्यलय सहयोगीहरू सुकबहादुर तामाङ, कृष्णबहादुर भुजेललाई पुरस्कृत गरिएको थियो।
त्यस अवसरमा स्थानीय अभिभावक रत्नकुमारी पराजुलीको परिवारबाट स्थापित एक लाख पाँच हजार पाँच सय ५५ रूपैयाँको अक्षयकोषमा एक लाख थप गर्ने घोषणा गरिएको छ।
विन्ध्यवासिनी शिशु स्याहार केन्द्रकी अध्यक्ष विजया रेग्मीले संस्थाको तर्फबाट प्रारम्भिक बाल कक्षाका लागि ५५ हजार रूपैयाँको अक्षयकोष स्थापनाका लागि रकम हस्तान्तरण गरिन्।
साथै साथीभाइ हातेमालो समूह (एसएलसी समूह–२०५३) तर्फबाट विद्यालयलाई दश हजार रूपैयाँ आर्थिक सहयोग गरिएको थियो। कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका कोषाध्यक्ष एवं विद्यालयका पूर्व सल्लाहकार सुरेन्द्रमान बिजुक्छेले प्रारम्भिक बाल कक्षाका विद्यार्थी र अर्चलबोट युनाइटेड युथ क्लबले कक्षा १ का विद्यार्थीका लागि विद्यालय पोशाक वितरण गरेका थिए।
कार्यक्रम उद्घाटन गर्दै प्रदेश शिक्षा विकास निर्देशनालय गण्डकीका निर्देशक डा बाबुराम ढुङ्गानाले गुणस्तरीय शिक्षाका लागि शिक्षक, विद्यार्थी र अभिभावकबीच समन्वय आवश्यक रहेको औल्याए।
कार्यक्रममा शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख नारायणप्रसाद सुवेदी, पोखरा महानगरपालिका शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य, पोखरा–२ का वडाध्यक्ष रामेश्वर मल्ल, विद्यालय निरीक्षक इन्द्रबहादुर थापा, ज्येष्ठ नागरिक मञ्चका अध्यक्ष टंकमान नापित लगायतले बोलेका थिए।
विद्यालयका प्रधानाध्यापक बसन्तराज पाण्डेले विद्यालयका प्रगति प्रतिवेदन तथा भावी योजना पेश गरेका थिए। विद्यालयमा स्थापित विभिन्न अक्षकोषबाट संचालित छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुको साथै विविध सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रभास पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षक कमलप्रसाद लामिछानेले स्वागत र सहायक प्रधानाध्यापक विष्णुप्रसाद तिमिल्सिनाले संचालन गरेका थिए।