पोखरा, ५ माघ । बलात्कारपछि हत्या गरिएकी पुम्दीभुम्दीकी श्रेया सुनारको परिवारलाई पोखरा सभागृहमा रहेको जनमुखी बचत तथा ऋण सहकारी संस्थाले सहयोग हस्तान्तरण गरेको छ ।
सहकारीले आफ्नो ११ औं वार्षिकोत्सवको अवसरमा शनिबार १५ हजार रुपैयाँ सहयोग गरेको हो । सहकारीको सिंगो कार्यसमिति श्रीयाको घर पुगेर उनकी आमा बेलकुमारी सुनारलाई आर्थिक सहयोग गर्यो । सहकारीका अध्यक्ष महेन्द्र विश्वकर्माले सामाजिक सेवामा योगदान पुर्याउने उद्देश्यले श्रेयाको परिवारलाई सहयोग गरेको बताए ।
सहकारीका उपाध्यक्ष एवं युवा व्यवसायी दशरथ सुनारले समाजमा गरिब एवं उत्पीडित समुदायमाथि आपराधिक गतिविध हुनु हेपाहा प्रवृत्ति भएको बताए । ‘जो कमजोर छ उसैलाई निशाना बनाइन्छ,’ उनले भने, ‘उत्पीडित समुदाय माथि उठ्न शिक्षामा जोड दिनुपर्छ ।’
सहकारीकै सदस्य उमेश अछामीले आफ्नो छोरा रञ्जित अछामीको जन्मदिनको अवसरमा श्रेयाको परिवारलाई ११ हजार रुपैयाँ सहयोग गरे ।
श्रेयाकी आमा बेलकुमारीले दैनिक औषधी खानुपर्दा आर्थिक स्थिति नाजुक हुँदै गएको बताइन् ।