पोखरा, ९ माघ । लोकप्रिय गायिका तारादेवीका यस्तै कालजयी गीत गाएर उनलाई पोखरामा सम्झिएको छ ।
“कालीपारे दाइ कति राम्रो
ढाका टोपी, काँधैमा गलबन्दी”
पोखरा–१४, औद्योगिक क्षेत्रस्थित सगरमाथामार्ग आमा समूहले बुधबार उनको १३ औँ वार्षिक स्मृतिमा सांगीतिक कार्यक्रम गरेको हो।
कार्यक्रममा गायक नवराज बराल, पशुपति गुप्ता, लक्ष्मी गिरी, पिङ्गला भट्ट, खिमकुमार गुरुङ, जूना क्षेत्री, पद्मराज ढकाल, अभिमन्यूविक्रम राणा लगायतले तारादेवीका शुभकामना, नौ सय खोला, उकाली ओरालीहरुमा लगायतका एकल तथा युगल गीतहरु गाएका थिए। उक्त कार्यक्रम उद्घाटन गर्दै सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले तारादेवीलाई सम्झिएर सगरमाथामार्ग आमा समूहले सह्रानीय कार्य गरेको बताए। भक्ति संगीत प्रतिष्ठानका अध्यक्ष नवराज बरालले तारादेवीलाई स्वरकिन्नरी “क” को उपाधि मिलेको बताउँदै पोखरामा २०६३ सालमा तारादेवीका गीतमा सविना सुनामको एकल साँझ आयोजना गरिएको स्मरण गरे ।
स्वतन्त्र पत्रकार संघ नेपालका राष्ट्रिय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले नेपाली संगीते क्षेत्रमा तारादेवीको अतुलनीय योगदान रहेको उल्लेख गरे।
कार्यक्रममा सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठानका उपाध्यक्ष अभिमन्यूविक्रम राणा, महासचिव मनकुमार श्रेष्ठ, सगरमाथा टोल विकास संस्थाका अध्यक्ष रुपबहादुर थापा, सगरमाथा आमा समूहका सल्लाहकार पवित्रा पचभैयाले शुभकामना मन्तव्य राखेका थिए।
सगरमाथा मार्ग आमा समूहका अध्यक्ष एवम् लोकगायिका जूना क्षेत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा उपाध्यक्ष रेणु जिसीले स्वागत तथा सचिव मञ्जु श्रेष्ठले सञ्चालन गरेकी थिइन्।