सडकमै चालकको स्वास्थ्य जाँच

Pravin Panday

ByPravin Panday

४ माघ २०७५, शुक्रबार ०९:१० ४ माघ २०७५, शुक्रबार ०९:१० ४ माघ २०७५, शुक्रबार ०९:१०

लमजुङ, ३ माघ। सडक दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले सडकमै चालकको स्वास्थ्य परीक्षण थालेको छ। लमजुङमा ट्राफिक प्रहरीले पहिलो पटक विहीवार सवारी चालकको स्वास्थ्य जाँचसहित सवारीको अवस्था परीक्षण शुरु गरेको हो । ‘सवारी चेकजाँच होला भनेको थिएँ, आफ्नै स्वास्थ्य चेक भयो,’ बसचालक नवराज वाग्लेले भने, ‘ट्राफिक प्रहरीले राम्रो कामको शुरुवात गरेको रहेछ।’

‘सवारी दुर्घटनाबाट आफू पनि बचौं र अरुलाई पनि बचाऔं’ नाराका साथ स्वास्थ्य कार्यालयका प्राविधिकको सहयोगमा सो कार्य गरिएको हो ।

‘चालकको ब्लड प्रेसर, आँखाको स्वास्थ्य जाँचसहित सवारीको अवस्था र आवश्यक कागजात चेक गरिएको छ,’ ट्राफिक प्रहरी सहायक निरीक्षक राम अवतार चौधरीले भने। उनका अनुसार ट्राफिकको केन्द्रीय कार्यालय निदेर्शन अनुसार हरेक हप्ता चेकजाँच गरिने छ। पहिलो दिन ५१ सवारीचालकको स्वास्थ्य अवस्था, सवारीको अवस्था चेकजाँच गरिएको ट्राफिक हवल्दार भूमिराज घिमिरेले जानकारी दिए। वेशीशहरबाट छुटेका र आउँदै गरेका सवारीमध्ये बस २३, ट्याक्टर ४, जिप/कार १५ र मालबाहक ट्रक ९ को जाँचसहित सम्बन्धित चालकको स्वास्थ्य जाँच गरिएको हो । यसअघि ट्राफिक चेकजाँचक्रममा सवारी कागजात र मादक पदार्थ सेवन (मापसे) मात्रै जाँच हुँदै आएको थियो । अब सवारीको अवस्था र चालकको स्वास्थ्य नै परीक्षण भएपछि ट्याक्सी चालक बुद्धि क्षत्रीसमेत खुसी देखिन्थे। उनले भने, ‘ट्राफिक प्रहरीले शुरु गरेको अभियानमा हामी सबैले साथ दिनपर्छ।’

जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयको संयुक्त आयोजनामा वेशीशहर–२, भकुण्डेवेशीमा सो परीक्षण गरिएको हवल्दार भूमिराज घिमिरेले बताए।