काठमाडौँ, १८ फागुन । सरकार र ठेकेदारले सडक निर्माणमा ध्यान नदिदा दिनहुँ जसो हुने सवारी दुर्घटनामा सर्वसाधारणले ज्यान गुमाउनु परेको प्रति सांसदहरुले चिन्न्ता व्यक्त गरेका छन् । दार्चुलामा शुक्रवार साँझ भएको जीप दुर्घटनामा ११ जना सर्वसाधारणको ज्यान गएको छ ।
दुर्घटना बढिरहेको भन्दै प्रतिनिधिसभाका सदस्यले शनिवार सरकार र सदनको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधिसभाको शनिवार बसेको बैठकमा सुदूरपश्चिमको पहाडी जिल्लामा सडक निर्माणको काम प्रभावकारी हुन नसक्दा नेपाली नागरिकले अकालमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले तत्कालै सडक सुधार गर्न माग गरेका गरेका छन् ।
सडक निर्माणमा लापर्बाही गर्ने निर्माण व्यवसायीलाई कारवाहीको दायरामा ल्याउन सांसदहरुले आग्रह गरेका छन् । सांसद गणेशसिंह ठगुन्नाले निर्माण व्यवसायीको लापर्बाहीका कारण स्थानीय नागरिकले कष्टकर रुपमा यात्रा गर्न बाध्य हुनु परेको बताए । मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिन, घाइतेको उपचारको प्रबन्ध गर्न उनको माग छ ।
महाकाली राजमार्ग अन्तर्गतको दार्चुला टिंकर सडकखण्ड विसं २०६४ देखि निर्माण शुरु भए पनि हालसम्म पूरा हुन सकेको छैन । निर्माण व्यवसायीले समयमा काम नगरेको भन्दै स्थानीयले ज्यानै जानेगरी जोखिमपूर्ण यात्रा गर्नुपरेको भनाई सासदहरुको थियो ।
सदरमुकामबाट पाँच किलोमिटरको दूरीमा नै जीप दुर्घटनामा परेको सांसद ठगुन्नाको भनाइ छ । यस्तै सांसद दिलेन्द्रप्रसाद बडूले पनि दार्चुलामा जीप दुर्घटनामा परी ११ जनाको असामयिक निधन भएको भन्दै सडक निर्माणमा निर्माण व्यवसायीले लापर्बाही गरेको बताए ।
आफूले पटकपटक सो सडक निर्माणमा लापर्बाही भएको भन्दै सदन र सरकारको ध्यानाकर्षण गराएको भए पनि कहीँकतैबाट सुनुवाइ नभएको भन्दै गुनासो गरे । आर्थिक वर्ष २०७४÷७५ को बजेटबाट सो सडकखण्डको निर्माण भइरहेको र चालू आवको बजेट कहिले प्राप्त हुने हो भन्दै सांसद बडूले भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठको ध्यानाकर्षण गरे ।
सडक निर्माणमा देखिएको समस्या समाधान गरी दुर्घटनारहित बनाउनुपर्ने र दोषी देखिएका जो कोहीलाई पनि कानूनी दायरामा ल्याएर कारबाही गर्नुपर्ने बताए । बैठकमा सचिव गोपालनाथ योगीले प्रतिनिधिनिधिसभामा नै उत्पत्ति भएका र राष्ट्रियसभाबाट प्राप्त सन्देशसहित तीन वटा विधेयक टेबुल गरे ।