
लेखनाथ, २ फागुन। सुस्तश्रवण (बहिरा) विद्यार्थीको उज्ज्वल भविश्य र उनीहरुको जीविकोपार्जनमा सहयोग पुग्ने गरी सीपमूलक शिक्षा दिनुपनेर्मा जोड दिइएको छ।
सृजना बहिरा आवासीय माविको ३१ औं वार्षिकोत्सव तथा अभिभावक दिवसमा वक्ताले उच्च मावि तहको पढाइ परिवर्तन गरी उनीहरुको निम्ति रोजगारमा सहयोग पुग्ने खालको सीपमूलक शिक्षा दिनुपर्ने सुझाव दिए ।
कक्षा १० पछि पढाइमा हातको सीपले रोजगार प्राप्तिमा सहयोग पुग्ने खालको होटल म्यानेज्मेन्ट, कृषिमा आधारित पढाइ लगायत जीवनोपयोगी शिक्षा प्रदान गर्न सके बेरोजगार बस्न नपर्ने वक्ताले बताए ।
गण्डकी प्रदेशका सांसद बिन्दुकुमार थापाले फरक क्षमता भएका ब्यक्तिको उचित रुपमा व्यवस्थापन गरी जीवन सुखमय बनाउनुपर्ने दायित्व रहेकाले तिनै तहको सरकार अपाङ्गमैत्री वातावरणमा काम गर्दै अगाडि बढेको बताए ।
प्रदेशका अर्का सांसद मीना गुरुङले फरक क्षमता भएका ब्यक्ति वा समूहलाई दया नभै मायाको भावनाले सीप प्रदान गरिदिनु पनेर्मा जोड दिएकी थिइन्।
प्रधानाध्यापक अनिता सिग्देलले आवासीय रुपमा विद्यार्थी राख्नुपरेकाले भौतिक संरचनाको अभावदेखि अन्य अतिरिक्त क्रियाकलापका लागि प्राप्त जग्गा नभएकोले अफ्ठ्यारो अवस्था आएको बताइन् ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष हरिप्रसाद बरालको अध्यक्षतामा भएको सो कार्यक्रममा पोखरा महानगरपालिका शिक्षा महासाखाका प्रमुख हेम आचार्य, शाखा अधिकृत विश्वराज आचार्य, सृजना विकास केन्द्रका महासचिव राधिका रेग्मी, वडा २६ का वडा सदस्य मुरली थापा, लेखनाथ साना सहरी खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष विष्णु बराल, गण्डकी बहिरा संघका अध्यक्ष जुमानसिंह गुरुङ, अभिभावक ऋषिराम पौडेल, स्थानीय समाजसेवी प्रकाशलाल श्रेष्ठ र पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कपिल अधिकारी लगायतले बहिरा विद्यार्थीको शिक्षा प्राप्तिपछि रोजगारका सवालमा राज्य उत्तरदायी हुनुपर्ने सुझाव दिए।
यसैबीच, विद्यालयको पठनपाठनमा सेवा पुर्याएकोमा उमा गोशेली, प्रमिला थकाली, उत्कृष्ट कर्मचारी लक्ष्मी भुजेल, २५ वर्ष सेवा पुर्याएका पुण्यराज पौडेल, पुष्पा कोइराला र सेवा निवृत्त कर्मचारी रामप्रसाद पौडेललाई सम्मान गरिएको थियो।
विद्यालयका सहायक प्रधानाध्यापक राजेन्द्रप्रसाद शर्माले स्वागत मन्तव्य राखेको सो कार्यक्रमको संचालन शिक्षक रुद्रबहादुर पहारीले गरेका थिए ।
२०४४ सालमा स्थापना भएको उक्त विद्यालय उच्च मावि संचालन गर्ने पहिलो बहिरा विद्यालय हो ।
विद्यालयमा ४५ जिल्लाका दुई सय ६४ छात्रछात्रा छन् । तीमध्ये दुइ सय पाँच जना आवासीय रुपमा रहेका छन्।