लेखनाथ, ४ फागुन । पोखरा–२६, जरुवामा रहेको सृजनशील टोल विकास संस्थाले विभिन्न सामाजिक संघ संस्था र टोलवासीको आर्थिक सहयोगमा पक्की भवन निर्माण गरेको छ ।
कुल २३ लाख रुपैयाँ लागतमा निर्मित सामाजिक भवनको शनिवार वडाध्यक्ष नारायणप्रसाद बरालले उद्घाटन गरे ।
उनले टोलवासीको सहयोगले नै वडाको विकास सम्भव भएकाले विकासका लागि जनता र सरकारबीच सहकार्य हुन सके छोटो समयमा धेरै विकास गर्न सकिने धारणा राखेका थिए ।
संस्थाका अध्यक्ष कल्पना बस्ताकोटीको अध्यक्षतामा भएको सो कार्यक्रममा स्थानीय समाजसेवी लिलाधर बराल, चन्दादाता प्रकाशलाल श्रेष्ठ, भवनका संरक्षक बसन्तनाथ योगी, जग्गादाता मधुमाया योगी, निवर्तमान अध्यक्ष गणेशभक्त अधिकारी, त्रिवेणी टोल विकास संस्थाका अध्यक्ष गणेश लामिछाने लगायतले सबैको साथ सहयोगले भवन बनाउन सकेकोमा खुसी ब्यक्त गरेका थिए ।
संस्थाका सचिव हरि लामिछानेले संचालन गरेको सो कार्यक्रममा स्वागत मन्तव्य इन्दिरा ढुंगानाले व्यक्र गरेकी थिइन् ।
सोही अवसरमा भवन निर्माणमा सहयोग पुर्याउने सहयोगदातालाई सम्मान गरिएको थियो । नवनिर्मित भवनमा सभा हल, स्टोर कक्ष र कार्यालय कक्ष रहेको छ ।