पोखरा, ७ माघ।पोखरा विश्वविद्यालयका स्ववियु सभापति सुनील तिमिल्सिना र सचिव सुरज परियारले आमरण अनसन शुरु गरेका छन्।
‘पोखरा विश्वविद्यालय बचाऔं’ अभियानका साथ विश्वविद्यालयमा लगाइएको ताला तत्काल खोलिनुपर्ने माग गर्दै उनीहरु सोमबार दिउँसो साढे ४ देखि विश्वविद्यालयको केन्द्रीय कार्यालय पोखरामा अनसन बसेका हुन्। स्ववियुले आफूहरुले विगतमा प्र्रस्तुत गरेको १९ बुँदे माग अझै पूरा नभएको र त्यसको दबाब दिन पनि अनसन थालेको जनाएको छ।
उनीहरुले विश्वविद्यालयमा मेडिकल कलेज साथै आफ्नै अस्पताल निर्माण गरिनुपर्ने, प्रत्येक प्रदेशमा आंगीक क्याम्पस खोल्नुपर्ने, रिचेकिङको उत्तरपुस्तिका हेर्ने व्यवस्था मिलाउनुपर्ने, विश्वविद्यालयमै सुविधासम्पन्न खेलकुद मैदान तथा सेमिनार हल बनाउनुपर्ने, मास्टर्स तहको कक्षा छुट्टै भवनमा हुनुपर्ने, विद्यार्थीको रेकर्ड राख्ने छुट्टै सफ्वयेयर निर्माण गर्नुपर्ने, सम्पूर्ण संकायअन्तर्गत रहेको सम्पूर्ण कार्यक्रमको प्रवेश परीक्षा केन्द्रिकृत गरियोस्, विश्वविद्यालयको सम्पूर्ण सम्बन्धन प्राप्त कलेजमा नियमअनुरुप अनुगमन गरिनुपर्ने, विद्यार्थीको शैक्षिक शुल्क एकरुपता गरिनुपर्ने लगायत माग राखेका छन्। स्ववयिु सभापति सुनील तिमिल्सिनाले विद्यार्थीको परीक्षा मिति नजिकिएको र विश्वविद्यालयको दीक्षान्त समारोह पनि प्रभावित हुने अवस्था आएको हुँदा कैयांै विद्यार्थीको भविष्यमा कुठाराघात हुने भन्दै दबाबका लागि अनसन बस्न बाध्य भएको बताए। डिन, भिसी र रजिष्ट्रारको कार्यालय अगाडि अनसन बसेका स्ववियु सभापति तिमिल्सिना र सचिव परियारले आफ्नो माग पूरा नभएसम्म अनसन जारी राख्ने चेतावनी दिएका छन्।
विद्यार्थी रामराज तिमिल्सिनाका अनुसार यसअघि स्ववियुले भीसी चिरञ्जीवी शर्मासमक्ष ज्ञापनपत्र समेत बुझाएको थियो।
यता, नेविसंघले भने स्ववियुको कार्यकाल सकिएको भन्दै आन्दोलित छ। उसले पुनरावेदन अदालतमा रिट दिएकोमा अदालतले भने स्टे अर्डर जारी गर्दै अर्को आदेश नआएसम्म स्ववियु कार्यकाल चलाउन भनेको छ।
‘पोखरा विश्वविद्यालय जोगाऔं’
पोखरा विश्वविद्यालयको छवि, साखलाई अवमूल्यन हुनबाट बचाउन सम्बन्धित सबैमा विश्वविद्यालयले अनुरोध गरेको छ। सोमबार विज्ञप्ति नै प्रकाशित गरी यस विश्वविद्यालयले सो अनुरोध गरेको हो।
विश्वविद्यालयको पोखरा ढुंगेपाटनस्थित केन्द्रीय कार्यालय र केन्द्रीय कार्यालय भवनभित्रै रहेका चार वटै डीन कार्यालयहरू, विश्वविद्यालयका चारवटै स्कूलका लेखा तथा प्रशासन, परीक्षा नियन्त्रण कार्यालय, पोखरा विश्वविद्यालयको सेवा आयोगका कार्यालय विगत दुई सातादेखि ठप्प छन्। विश्वविद्यालयमा गठन भएको स्वतन्त्र विद्यार्थी युनियनको कार्यकाल, पदावधिका विषयलाई लिएर स्ववियु र नेपाल विद्यार्थी संघबीच विवाद सिर्जना भएपछि त्यसले विश्वविद्यालयको सबै प्राज्ञिक एवम् प्रशासनिक कामकाजलाई पूर्णरूपमा प्रभावित पारेको हो।
आन्दोलित विद्यार्थीले विश्वविद्यालयका पदाधिकारी तथा कर्मचारीहरूले चढ्ने सवारी साधनलाई समेत चल्न दिएका छैनन्। विश्वविद्यालयमा आउने, चौरमा बसी हाजिर गर्ने कर्मचारीहरूको दैनिकी जस्तै बनेको छ। लेखासम्बन्धी कार्य, खरिद बील भुक्तानी लगायत चिठी पत्र दर्ता चलानीसम्बन्धी सबै कारोवार ठप्प हुँदा आमजनसमुदाय, संघसंस्थाले सास्ती व्यहोर्नु परेको छ।
विद्यार्थीका फिल्ड भिजिटदेखि लिएर राष्ट्रिय–अन्तराष्टिय सबै क्रियाकलाप प्रभावित हुन पुगेका छन्। परीक्षा नियन्त्रण कार्यालयको सम्पूर्ण काम प्रभावित भएको छ। वार्षिक क्यालेन्डर अनुसार नियमित परीक्षा सञ्चालन र परीक्षाफल प्रकाशनलाई बन्दले नराम्ररी प्रभावित पारेको विश्वविद्यालयका परीक्षा नियन्त्रक डा भरतराम ढुंगाना बताउँछन्। मौका परीक्षा, रिचेकिङ, रिटोटलिङसम्बन्धी कार्य अगाडि बढ्न सकेका छैनन्। ट्रान्सक्रिप्ट, सर्टिफिकेट लिन आउने, सर्टिफिकेट प्रमाणित गर्न आउने सयौं विद्यार्थी अभिभावक बन्दका कारण त्यसै फर्किन बाध्य छन्। यस्तै, फेबु्रअरी २० मा सम्पन्न हुने विश्वविद्यालयको दीक्षान्त समारोहपनि अब सोही समयमा नहुने निश्चित छ भन सेवा आयोगका विज्ञापन अन्तर्वार्तासम्बन्धी कार्यलाई समेत बन्दले प्रभावित पारेको सूचना अधिकृत लोकप्रसाद ढकालले बताए ।