हिमआँधीले भत्किए अन्नपूर्ण बेस क्याम्पका होटल

Pravin Panday

ByPravin Panday

२४ फाल्गुन २०७५, शुक्रबार १०:२९ २४ फाल्गुन २०७५, शुक्रबार १०:२९ २४ फाल्गुन २०७५, शुक्रबार १०:२९

पोखरा, २३ फागुन। हिमआँधीका कारण कास्कीमा पर्ने अन्नपूर्ण बेस क्याम्प (एबीसी) का होटलहरु भत्किएका छन्। होटलका छाना पूर्ण रुपमा उडेका छन् भने केही गारो समेत भत्किएको छ।

पछिल्लो एक महिनादेखि एबीसीमा लगातार हिउँ परिरहेको छ भने कहिलेकाहीँ आँधी समेत आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

बेस क्याम्पमा ४ वटा होटल थिए। बाक्लो हिउँ पर्न थालेपछि त्यहाँका होटल सञ्चालकहरु पनि बेस क्याम्प छोडेर वेशी झरेका छन्। लगातार हिउँ परेपछि अन्नपूर्ण क्षेत्रमा सुरक्षाका लागि पर्यटकलाई जान नदिइएको छोम्रोङ पर्यटन व्यवस्थापन समिति उपाध्यक्ष तथा होटल संचालक जगनराज गुरुङले बताए। ‘यो वर्ष हिउँबारी निकै धेरै भयो। मौसम सहज नहुँदासम्म एबीसीमा पर्यटक नपठाउने हामीले नै निर्णय गरेका हौं,’ उनले भने, ‘जानै नमिल्ने त होइन। तर अग्रिम सतर्कता अपनाएका हौं।’

एक्यापसँगको समन्वयमा होटल सञ्चालक समिति र गाउँपालिकाले फेब्रुअरी २ देखि छोम्रोङभन्दा माथि पर्यटकलाई जान रोकेको थियो। तर विहीवारदेखि माछापुच्छ्रे बेस क्याम्पसम्म खुला गरिएको र सातादिनपछि एमबीसीमा पनि खुला गर्ने समितिका सचिव दिलीप गुरुङले बताए।

‘होटलहरु भत्किएका छन्। मौसम सफा भएपछि हिउँ पग्लिन्छ अनि भत्किएका होटल मर्मत गरेर पूरानै स्वरुपमा पर्यटकलाई सेवा दिन सक्छौं,’ होटल सञ्चालक समेत रहेका उनले भने, ‘पहिलेका वर्षभन्दा यसपालि हिउँ धेरै परेको छ। धेरै हिउँ जमेकोले पनि हिंडडुल गर्न गाह्रो पर्छ।’

माछापुच्छ्रे बेस क्याम्पका होटलहरुमा चाहीँ कुनै क्षति भएको छैन। ‘अहिलेलाई माछापुच्छ्रेसम्म खुला भयो। पर्यटकहरु जाँदा बस्ने ठाउँ समस्या छैन,’ गुरुङ भन्छन्, ‘एबीसीमा पनि हाइकिङ गर्न मिल्छ। माथि घुमेर माछापुच्छ्रे बेसक्याम्पमा बस्न आइपुग्छन्।’

अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष युवराज कुँवरले होटलमा भएको क्षति विवरण भरेर केन्द्र र प्रदेश सरकारसँग पनि सहयोग माग्ने बताए। ‘३ करोड हाराहारीमा नोक्सान भएको छ। गाउँपालिकाले मात्रै क्षति थेग्न सक्दैन,’ उनले भने, ‘प्रदेश र केन्द्र सरकारलाई पनि जानकारी गराएका छौं। एबीसी पुनः छिट्टै पुरानै अवस्थामा आइपुग्छ।’