काठमाडौँ, २४ माघ । सरकारले ८ सय ४८ उपसचिवको समायोजन गरेको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले ‘कर्मचारी समायोजन अध्यादेश–२०७५’ अनुसार अनलाइन फाराम भरेका आधारमा ८ सय ४८ उपसचिवको समायोजन गरिएको बताए ।
उनका अनुसार संघमा ८ सय ३६, प्रदेशमा आठ र स्थानीय तहमा चार उपसचिवको समायोजन भएको छ ।
समायोजनमा परेका उपसचिवले फाराम भर्दा प्रयोग गरेको इमेल र पासवर्डका आधारमा मन्त्रालयको वेबसाइटबाट आफैँले समायोजनको पत्र बुझेका छन् । करीब दुई हजार उपसचिव तीनै तहमा समायोजन हुँदैछन् । सरकारले तीनै तहमा समायोजनका लागि गत पुस ११ गतेदेखि यही माघ २ गतेसम्म अनलाइन फाराम भर्ने समयसीमा तोकेको थियो ।
उपसचिवको समायोजन सकिएपछि शाखा अधिकृतदेखि तल्लो तहका कर्मचारीलाई समायोजन गरिने अधिकारीले बताए ।
सरकारले आगामी फागुन ३ गतेसम्म अनलाइन आवेदनका आधारमा सबै कर्मचारीको समायोजन गरिसक्ने लक्ष्य लिएको छ । सरकारले संघमा ४७ हजार ९ सय २०, प्रदेशमा २२ हजार ७ सय ५५ र स्थानीय तहमा ६७ हजार ५ सय ३ कर्मचारी समायोजन गदैर्छ ।
सरकारले यसअघि सचिवको समायोजन गरिसकेको छ भने सहचिवको समायोजन प्रक्रिया स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।
कूल ६ सय ६२ सहसचिवमध्ये संघमा ५ सय ६० र प्रदेशमा १ सय २ सहसचिवको समायोजन हुनेछ ।